जनता टाइम्स

९ फाल्गुन २०८२, शनिबार १४:१८

रास्वपा चुनाव भाँड्ने मनस्थितिमा देखियो : अध्यक्ष ओली


काठमाडौं, फागुन ९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचन नजित्ने निष्कर्ष निकालेर अराजक गतिविधितर्फ उन्मुख भएको बताउनुभएको छ ।

शनिबार झापास्थित भद्रपुर विमानस्थल मा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले रास्वपाका पछिल्ला व्यवहार अभद्र, अमर्यादित र अशोभनीय देखिएको बताउनुभयो। अहिले तनाव सिर्जना गर्ने तथा चुनावी वातावरण बिगार्ने सङ्केत देखिन थालेको उहाँको भनाइ थियो। ‘मलाई के लाग्छ भने- रास्वपाले चुनाव जितिन्न भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ, त्यस कारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता गतिविधि देखिन थालेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको अनुमान गर्न सकिने दाबी गर्नुभयो। आफ्नो पक्षमा नतिजा आउने देखिए मात्र चुनाव लड्ने र नआउने देखिए चुनावै हुन नदिने प्रवृत्तिमा रास्वपा देखिएको उहाँको भनाइ छ । ‘मैले केही दिनयताका घटनाक्रम हेर्दा रास्वपाले चुनाव भाँड्न खोजेको जस्तो देखिन्छ,’ उहाँले थप्नुभयो।

अध्यक्ष ओलीले निर्वाचन बलजफती गर्ने विषय नभएको स्पष्ट पार्नुभयो। नियम–कानुनभित्र स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरण र निष्पक्ष तथा धाँधलीरहित निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो। ‘निर्वाचन भनेको बलजफती गर्ने विषय होइन, शान्तिपूर्ण वातावरणमा हुनुपर्छ, वातावरण शान्तिपूर्ण देखिएको छैन’, उहाँले भन्नुभयो।

मतदानअघिका सम्पूर्ण प्रक्रिया, मतगणना र मतपरिणाम घोषणासम्म सबै चरण पारदर्शी हुनुपर्ने पनि उहाँले बताउनुभयो। यो विषय आफ्नो पार्टीले सधैँ उठाउँदै आएको उहाँको भनाइ थियो।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै दलहरूको भूमिका हुनु पर्नेमा उहाँले जोड दिनुभयो । तर सुरक्षा अवस्था बिग्रँदै गएको उहाँले बताउनुभयो ।

ओलीले भदौ २३ गते हुनु नहुने घटना भएको बताउँदै त्यसको जगमा टेकेर भदौ २४ गते देश जलाउने आपराधिक घटना भएको बताउनुभयो । यी सबै कुराबाट देशलाई निकास दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

सर्वोच्च अदालतले समेत देश यस्तो जटिल संवैधानिक जटिलतामा जेलिएको बेला निकास दिन नसकेको उहाँले बताउनुभयो । म्याद गुजारे दिएकाे न्याय न्या नहुने उहाँले स्पष्ट पार्नुभयाे ।

संसद् पुनर्स्थापना मुद्दालाई अदालतले फागुन २१ गते निर्वाचन सकिएपछि फागुन २२ गते सुनुवाइको तिथि तोकेको छ ।