काठमाडौं, फागुन ९ । दुई समुदायबीच भएको झडपका कारण अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय रौतह ले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन ९ गतेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ। जारी आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने उल्लेख गरिएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले स्पष्ट पारेको छ। आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रशासनका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा चम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ।प्रशासनले जिल्लावासीलाई शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै गौर क्षेत्रका सम्पूर्ण व्यापारिक प्रतिष्ठान बन्द गरी सुरक्षित रूपमा बस्न व्यवसायीहरूलाई प्रशासनले अनुरोध गरेको छ।
गौरमा जारी दंगाका कारण त्यहाँबाट सञ्चालन हुने सानो तथा लामो दूरीका सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन्। यातायात सेवा अवरुद्ध हुँदा दैनिक यात्रुहरूसँगै विशेषगरी लोकसेवा परीक्षाका लागि जनकपुर जानुपर्ने विद्यार्थीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। परीक्षाको मिति नजिकिँदै गर्दा सवारी साधन बन्द भएपछि उनीहरू अन्योल र समस्यामा परेका छन्।
यसैबीच, शान्ति–सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रशासनले सेना परिचालनसमेत गरेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्