जनता टाइम्स

१० फाल्गुन २०८२, आईतवार ०९:१३

झण्डा जलाउनु भनेको आस्था र विश्वास जलाउनु हो, रास्वपाले मनोनयन दर्ताकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको हो : अध्यक्ष ओली


बिर्तामोड, फागुन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताउनुभएको छ। झण्डा जलाउने विषय सामान्य नभएको उहाँको भनाइ छ।

झापाको भद्रपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डा कुनै साधारण वस्तु नभई आन्दोलन, आस्था र आदर्शको केन्द्र भएको स्पष्ट पार्नुभयो। ‘झण्डा हाम्रो आन्दोलनको प्रतीक हो, कसैको आस्था र विश्वासलाई कसैले जलाउन पाउँदैन,’ उहाँले भन्नुभयो।

झण्डा जलाउने घटनालाई उहाँले आपराधिक कार्यको संज्ञा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्नुभयो। सूर्य अंकित झण्डा एमाले आन्दोलनको प्रतिविम्ब भएको उल्लेख गर्दै उहाँले आन्दोलनको प्रतीकमाथि आक्रमण गर्नु गम्भीर अपराध भएको धारणा राख्नुभयो। ‘यो अपमानपूर्ण काम स्वीकार्य छैन,’ उहाँले जोड दिनुभयो।

मनोनयनकै दिनदेखि दमकबाट अवाञ्छित गतिविधि सुरु भएको दाबी गर्दै अध्यक्ष ओलीले चुनाव जित्ने अवस्था नदेखिएपछि रास्वपा यस प्रकारका हर्कतमा उत्रिएको आरोप लगाउनुभयो। दाङमा झण्डा जलाइएको घटनाले चुनाव भाँड्ने मनसाय प्रष्ट भएको उहाँको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष ओलीले सयौँ ‘जेनजी’ युवालाई एमालेमा स्वागत गर्नुभएको थियो। राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दीपक बुढाथोकीले युवाहरूको उत्साहपूर्ण प्रवेशले संगठनमा थप ऊर्जा र आत्मविश्वास थपिएको बताउनुभयो।

भेलामा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। एमालेले आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण र युवा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ।