जनता टाइम्स

१० फाल्गुन २०८२, आईतवार १८:१५

पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाउँदै सरकार, वार्षिक ६ अर्ब बचाउन सकिने उद्योगमन्त्री सिन्हाको ठोकुवा


काठमाडौं, फागुन १० । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाजले आइतवार आयोजना गरेको कार्यक्रममा उद्योगमन्त्री सिन्हाले यस्तो तथ्य प्रस्तुत गर्नुभएको हो । उहाँले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको जानकारी पनि दिनुभयो । यस कामले नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने मन्त्री सिन्हाले दाबी गर्नुभयो ।

‘यसबाट व्यापार घाटा कम गर्न सहयोग पुग्ने छ,’ उहाँको भनाई छ । इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै मन्त्री सिंन्हाले हाल पेट्रोलमा इथानोल मिसाउने आदेश २०८२ स्वीकृत भइसकेको र उक्त नीति राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा जाने चरणमा रहेको जानकारी दिनुभयो । उद्योगमन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम भएको समेत दावी गर्नुभयो ।

‘पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा पनि नेपालमा वार्षिक १३ करोड पेट्रोलको आयात घटाउन सकिने रहेछ । यसबाट वार्षिक झन्डै ६ अर्ब बराबरको विदेशी मुद्रा बचत हुने रहेछ । नेपालमा पसिनाले कमाएको पैसा बच्नेछ,’ मन्त्री सिन्हाले भन्नुभयो । उहाँले इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उत्पादन बढ्ने, कृषि भूमिको उपयोग विस्तार हुने तथा आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

यस्तै मन्त्री सिन्हाले यस क्षेत्रमा विदेशी लगानी आउने सम्भावना रहेको उल्लेख गर्दै प्रतिस्पर्धा आवश्यक भए पनि अस्वस्थ प्रतिष्पर्धा हुन नहुनेमा जोड दिनुभयो । इथानोललाई प्रतिस्पर्धी बनाउन पेट्रोलभन्दा इथानोलको मूल्य कम हुनुपर्ने र त्यसका लागि कार्यविधि चाँडै आउने उहाँको भनाई छ ।