झापा, फागुन ११। नेकपा एमाले अध्यक्ष तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनमा बुथ कब्जा गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ ।
सोमबार झापामा आयोजित नेसनल भाेलेण्टियर फोर्सकाे कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनु पर्नेमा जोड दिनुभयो। उहाँले चेतावनी दिनुभयो, ‘कसैले बुथ कब्जा गर्ने साना सपना नदेखे हुन्छ, देशमा नेसनल भोलेण्टियर फोर्स छ।’
उहाँले नेसनल भोलेण्टियर फोर्स केवल चुनावकाको लागि नभई राष्ट्रको दीर्घकालीन सुरक्षाका लागि गठन गरिएको स्पष्ट पार्नुभयो। ‘अब नेसनल यूथ भाेलेण्टियर फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले यो फोर्सको कार्यक्षेत्रमा विशेष जोड दिँदै भन्नुभयो- ‘नेसनल भोलेण्टियर फोर्सले प्रहरी प्रशासनलाई सहयोग गर्ने, उपद्रो र आतंक मच्चाउन नदिने, र शान्ति तथा सुरक्षालाई सुनिश्चित गर्ने काम गर्नेछ, यसले अब प्रहरीको हतियार र बर्दी खोस्न दिँदैन।’
उहाँले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको दोहोर्याउँदै मतदाताको स्वतन्त्र अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै क्रममा अध्यक्ष ओलीले पार्टी र युवा फोर्सबिचको समन्वयले निर्वाचन क्षेत्रभित्र अनुशासन कायम राख्ने, मतदातालाई डर वा दबाबबाट बचाउने लक्ष्य रहेको जानकारी दिनुभयो।

अध्यक्ष ओलीले एमालेको पहिलो प्राथमिकता देश भएको बताउनुभयो । उहाँले एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्नुभयो। ‘एमाले भन्छ-अरू सबै कुरा पछि, देश पहिले,’ उहाँको भनाइ थियो।
उहाँले आफ्नो नेतृत्वमा देश विकासको धेरै काम भएको बताउँदै अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । त्यसैले आफूले पुनः नेतृत्व लिन चाहेको ओलीले स्पष्ट पार्नुभयो । यस ठाउँको विकासको जिम्मा मेरो, यो प्रदेशको विकासको जिम्मा मेरो, यो देशको विकासको जिम्मा मेरा’, ओलीले भन्नुभयो ।
उहाँले कसैले लहडमा प्रधानमन्त्री बन्छु भन्दैमा प्रधानमन्त्री नबन्ने दाबी गर्नुभयो । अहिले कोहीले बालहठ जस्तो गरी आफूलाई प्रधानमन्त्री घोषणा गरेका बताउँदै उहाँले त्यो सम्भव नभएको स्पष्ट पार्नुभयो । ‘बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ तर उ बन्ने होइन नि, त्यस्तै ख्याल ख्यालजस्तो लाग्यो मान्छेलाई, भनिदिए’, उहाँले भन्नुभयाे ।
ओलीले देशको विकास गर्ने पार्टी नेकपा एमाले नै भएकोले एमालेले देश विकास गर्ने दाबी गर्नुभयो । एमालेकाे पक्षमा देश भर मतदान गर्न पनि उहाँले आह्वान गर्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्