जनता टाइम्स

१२ फाल्गुन २०८२, मंगलवार १५:५७

सर्वेक्षणका नाममा पार्टीको प्रवक्ता बन्ने र जनमत प्रभावित पार्ने काम भएकोमा एमालेको कडा आपत्ति, सोसल मिडियामाथि कडा नियमनको माग


काठमाडौं, फागुन १२ । नेकपा एमालेले मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टी केन्दीय कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गरेर एमालेले यस्तो बताएको हो । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको भएपनि मत मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाउनु भयो ।

‘नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ। सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ। यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ,’ शाहीले भन्नुभयो ।

एमालेले निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्यमले प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता, उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ। उनले सामाजिक सञ्जालको दुरुपयोग र कृत्रिम सामग्री नियमन हुन सकेन भनेको जनाएको छ।

‘सूचना, समाचार, शिक्षा, मनोरञ्जन र भेटघाटका लागि अहिले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब, वीच्याट, वाट्सएप, भाइबर आदि)सूचना आदान–प्रदानका प्रमुख माध्यम बनेको छ। यी माध्यमहरूबाट सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिकलगायत विषयमा सकारात्मक बहस हुनु सबल पक्ष हुन्। तर पछिल्लो समय गलत सूचना, अनर्गल दुष्प्रचार र कृत्रिम सामाग्रीहरू प्रसारले सामाजिक सद्भाव भड्काउने, राजनीतिक ध्रुवीकरणको भाष्य खडा गर्ने गम्भीर चुनौती सिर्जना गरेको छ,’ एमालेले बिज्ञप्तिमार्फत भनेको छ । एमालेले मिडियालाई आफ्नो इथिक्सभित्र रहेर फेक र पेड न्यूजको खेती नगर्न पनि सुझाएको छ ।