जनता टाइम्स

१३ फाल्गुन २०८२, बुधबार १२:५३

दमकमा रास्वपा कार्यकर्ता एमाले प्रवेश, अध्यक्ष केपी शर्मा ओलीद्वारा स्वागत


दमक, फागुन १३। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)मा प्रवेश गर्नेहरूको सङ्ख्या झापामा बढ्दै गएको छ। यसैक्रममा झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक–४ बाट ३५० भन्दा बढी व्यक्तिहरू एमालेमा प्रवेश गर्नुभएको छ।

बुधबार धरधरे टोलमा आयोजित कार्यक्रममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित विभिन्न दल परित्याग गरी उहाँहरू एमालेमा आबद्ध हुनुभएको हो। नवप्रवेशीहरूलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभयो।

कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले विगतमा पनि एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यस क्षेत्रको विकासले गति लिएको उल्लेख गर्नुभयो। आगामी दिनमा समेत दिगो विकास र स्थायित्वका लागि उहाँकै नेतृत्व आवश्यक रहेको निष्कर्षसहित आफूहरू एमालेमा प्रवेश गरेको धारणा व्यक्त गर्नुभयो।

यसअघि पनि रास्वपासहित अन्य दलका क्षेत्रीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरिसकेको पार्टी स्रोतले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष ओली उम्मेदवार रहनुभएको छ। जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै जाँदा विभिन्न दलका नेता–कार्यकर्ताहरू एमालेमा समाहित हुने क्रम जारी रहेको जनाइएको छ।