जनता टाइम्स

१४ फाल्गुन २०८२, बिहीबार २१:३०

झापा–५ मा अध्यक्ष ओलीको घरदैलो : विकास र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता


दमक, फागुन १४ । केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै विकास र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

नेकपा (एमाले) का अध्यक्ष तथा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहेको उल्लेख गर्दै बहुमतसहितको निर्णायक शक्ति बनाउनु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो।

बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित घरदैलो तथा मतदाता भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनपछि देश सम्हाल्न एमाले पूर्ण रूपमा तयार रहेको दाबी गर्नुभयो। राष्ट्रिय स्वाभिमान, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र विकास–समृद्धिका एजेन्डामा एमालेले विगतमा निर्वाह गरेको भूमिकाका कारण जनताको समर्थन बढेको उहाँको भनाइ थियो।

कमल–५ स्थित सिम्ले पुग्नुभएका अध्यक्ष ओलीलाई स्थानीयवासीले भूमिसम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरेका थिए। सडक तथा पुल निर्माणपछि जनजीवन सहज बने पनि अव्यवस्थित बसोबासको समस्या अझै समाधान नभएको भन्दै स्थानीयले ध्यानाकर्षण गराएका हुन्। उहाँले भूमिसम्बन्धी जटिलता समाधान गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो।

त्यसैगरी, कमल–३ को सानो केर्खा क्षेत्रमा स्थानीयले किरातेश्वर, वाल्मीकि आश्रम तथा सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिदिन माग गरेका थिए। ती धार्मिक तथा प्राकृतिक सम्पदायुक्त क्षेत्रहरूको पूर्वाधार विकास गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सकिने सुझाव स्थानीयवासीले राखेका छन्। अध्यक्ष ओलीले सम्भावनायुक्त क्षेत्रहरूको समग्र विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफ्नो गृह निर्वाचन क्षेत्रमा सक्रिय रहनुभएका उहाँ कमल–५ को झारबारीमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पनि सहभागी हुनुभएको थियो। पछिल्ला दिनहरूमा उहाँले विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई तीव्रता दिनुभएको छ।

एमालेले विकास, पूर्वाधार विस्तार र स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाएको जनाएको छ। झापा–५ मा अध्यक्ष ओलीको सक्रियता बढेसँगै निर्वाचन गतिविधि थप चहलपहलपूर्ण बनेको छ।