खोटाङ, फागुन १५ । खोटाङमा चुनावी कमाण्डरको भूमिकामा रहनु भएका जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष निर्मल राईसहित ३७ जनाको समूह श्रम संस्कृति पार्टी मा प्रवेश गर्नु भएको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने समूहमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जसपाका जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष प्रिथीराज राई लगायतका नेता–कार्यकर्ता रहनु भएको जनाइएको छ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चुनावी अभियान तीव्र भइरहेका बेला जिल्ला अध्यक्ष नै अर्को दलमा प्रवेश गरेपछि जनता समाजवादी पार्टी, नेपालका प्रत्यक्षतर्फका उम्मेदवार राकेश राईलाई चुनावी व्यवस्थापनमा दबाब बढेको बताइएको छ ।
यसैबीच श्रम संस्कृति पार्टीले खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि आरेन राईलाई प्रत्यक्ष उम्मेदवारका रूपमा उठाएको छ । जिल्ला अध्यक्षसहितको समूहगत प्रवेशले खोटाङको चुनावी समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्