जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार ०९:१५

एमाले अध्यक्ष केपी शर्मा ओलीको आज  दमकमा विद्यार्थीहरूसँग छलफल, गौरादहमा मतदाता भेटघाट कार्यक्रम


दमक, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्नुहुने भएको छ ।

आज बिहान ११ बजे दमकस्थित होटल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको हो । निर्वाचन लक्षित भेटघाट कार्यक्रमअन्तर्गत आजको पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल रहने जनाइएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार छलफल कार्यक्रममा विद्यार्थीहरूका समसामयिक समस्या, जिज्ञासा तथा सुझावहरू सुन्ने र उठेका विषयमा अध्यक्ष ओलीले प्रत्यक्ष अन्तरक्रिया गर्नुहुनेछ । कार्यक्रममा करिब ३ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।

विद्यार्थीहरूसँगको कार्यक्रम सम्पन्न गरेलगत्तै अध्यक्ष ओली आज दिनभरि झापाको गौरादह नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा मतदातासँग भेटघाटमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । घोषित कार्यक्रमअनुसार गौरादह नगरपालिका–४ को खाङ्टामा साढे १ बजे स्थानीयसँग भेटघाट गर्नुहुनेछ । त्यसपछि सोही वडाको मियाँटोलमा पुगेर स्थानीयवासीसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

उक्त भेटघाटका क्रममा स्थानीयका समस्या, गुनासा तथा सुझावहरू सुन्ने र समाधानका विषयमा अध्यक्ष ओलीले धारणा राख्नुहुने जनाइएको छ । मियाँटोलको कार्यक्रमपछि उहाँले सोही वडाअन्तर्गत दुर्गाचौक मझुवामा दिउँसो ३ बजे मतदातासँग छलफल गर्नुहुनेछ भने साढे ३ बजे फकिरढिपमा समुहगत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर स्थानीयवासीका कुरा सुन्ने र प्रत्यक्ष संवादमार्फत धारणा राख्ने कार्यक्रमलाई अध्यक्ष ओलीले निरन्तरता दिँदै आउनुभएको जनाइएको छ ।