जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार १८:१६

कसैलाई मौका दिने नाममा बदमासको हातमा सुम्पिएर देशलाई प्रयोगशाला बनाउनु हुन्न : गगन थापा


पोखरा, फागुन १५ । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सरकार बनेलगत्तै निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्ति छानविन अघि बढाउने उदघोष गर्नुभएको छ । सभापति थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउने काम गर्न नहुनेतर्फ देसभरका मतदातालाई आह्वान समेत गर्नुभएको छ ।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले कसैसँग पनि अब सिक्ने र सिकाउने समय नभएको भन्दै सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्ने निश्कर्ष पनि सुनाउनु भयो ।

सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने स्पष्ट खाका तयार पारिसकेको बताउनु भयो । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ’, थापाले भन्नुभयो ।

थापाले अगाडि थप्नुभयो, ‘देश एक्लैले बनाउन सकिने र एक्लैले चलाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ, त्यो काम पनि कांग्रेस बाहेक अरूले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ ।’ सभापति थापाले कांग्रेस बाहेक अरूले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको जिकिरसमेत गर्नुभयो । कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको पनि थापाको भनाई थियो ।

अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने उनले अठोट व्यक्त गरे। अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा पनि उहाँले गर्नुभयो । कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी पनि गर्नुभयो ।