जनता टाइम्स

१६ फाल्गुन २०८२, शनिबार १५:४४

दमकवासीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष गरे कर प्रणाली सुधारको माग


दमक, फागुन १६ । झापाको दमक–९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष कर प्रणाली सुधार गर्न माग गर्नुभएको छ ।

शनिबार मतदातासँगको भेटघाटका लागि दमक पुग्नुभएका अध्यक्ष ओलीसमक्ष स्थानीय बासिन्दा तथा व्यवसायीहरूले कर प्रणालीलाई सेवाग्राहीमैत्री बनाउँदै एकद्वार प्रणालीमार्फत दर्ता, नवीकरण र कर भुक्तानीको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।

उहाँहरूले एउटै उद्यमी वा व्यवसायीले व्यवसाय दर्ता, नवीकरण तथा कर तिर्नका लागि विभिन्न कार्यालय धाउनुपर्ने बाध्यताका कारण स्वदेशमै उद्यमशीलता निरुत्साहित भएको गुनासो गर्नुभयो । बहुविध प्रक्रियाले समय, श्रम र आर्थिक व्यय बढाएको भन्दै सरलीकृत र पारदर्शी कर प्रणालीको आवश्यकता औँल्याउनुभयो ।

झापा क्षेत्र नं. ५ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले सोही क्रममा दमक–४ कञ्चनजंघा टोलका मतदाताहरूसँग पनि भेटघाट गर्नुभएको छ । उहाँ हाल आफ्नै निर्वाचन क्षेत्रमा मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रमलाई तीव्रता दिँदै सक्रिय रूपमा भेटघाटमा संलग्न रहनुभएको छ ।