सर्लाही, फागुन १६। सर्लाहीको बलरा नगरपालिका–१० सुदामा बसोबास गर्दै आउनुभएका अन्दाजी ६० वर्षीय भनु महतो र उहाँकी ५६ वर्षीया श्रीमती निर्मलादेवी महतो झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब ५सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो ।
शनिबार बिहान करिब ८ बजे स्थानीय बासिन्दाले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
स्थानीयवासीका अनुसार घटना शंकास्पद देखिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार घटनाको वास्तविक कारणबारे यकिन भइसकेको छैन ।
दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्