जनता टाइम्स

१६ फाल्गुन २०८२, शनिबार १७:१५

मध्यपूर्वको तनावप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, नेपालीको सुरक्षाका लागि सरकार र दूतावासलाई सक्रिय हुन आग्रह


काठमाडौं, फागुन १६। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले संयुक्त अरब इमिरेट्स, इजरायल र इरानमा रहनुभएका नेपालीहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्नुभएको छ । साथै, ती देशहरूमा रहेका नेपाली दूतावास तथा नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षाका लागि अविलम्ब परिचालित हुन अनुरोध गर्नुभएको छ ।

अध्यक्ष ओलीले विकसित परिस्थितिलाई ध्यानमा राख्दै विदेशमा रहेका नेपालीहरूको जीवन र सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।  ‘मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ, युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।