दाङ, फागुन १७ । प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा नेकपा (एमाले)ले दाङमा भव्य शक्ति प्रदर्शन गरेको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा घोराहीमा निकालिएको चुनावी प्रचार र्यालीमा दशौँ हजार कार्यकर्ता तथा समर्थक सहभागी भएको एमालेले दाबी गरेको छ । घोराहीको मुख्य बजार क्षेत्र हुँदै निकालिएको र्यालीमा पार्टीका झण्डा, ब्यानर र नारासहित समर्थकहरू उत्साहपूर्वक सहभागी हुनु भएको थियो । कार्यक्रममा स्थानीय तहका नेता–कार्यकर्तासँगै प्रदेश तथा केन्द्रीय तहका नेताहरूको पनि उल्लेख्य उपस्थिति रहेको जनाइएको छ । एमालेका नेताहरूले दाङमा यति ठूलो जनसहभागिता पहिलो पटक देखिएको दाबी गरेका छन् ।
पछिल्लो समय विभिन्न राजनीतिक दलहरूबिच चुनावी सभामा भीड प्रदर्शन गर्ने प्रतिस्पर्धा चलिरहेका बेला एमालेले पनि मौन अवधिअघि आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गरेको हो । र्यालीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले दाङमा एमालेप्रति जनसमर्थन उल्लेख्य रूपमा बढेको दाबी गर्नु भयो । उहाँले आगामी निर्वाचनमा स्पष्ट जनादेश दिएर विकास, स्थायित्व र समृद्धिको यात्रालाई बलियो बनाउन मतदातासमक्ष आग्रह गर्नुभयो ।
निर्वाचन नजिकिँदै जाँदा दाङसहित देशभर चुनावी गतिविधि तीव्र बनेका छन् । मौन अवधि सुरु हुनुअघि राजनीतिक दलहरूले अन्तिम शक्ति प्रदर्शनका रूपमा ठूला र्याली तथा सभाहरू आयोजना गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्