जनता टाइम्स

१८ फाल्गुन २०८२, सोमबार १३:२३

दमकका मजदुरसँग एमाले अध्यक्ष ओलीको भेट : आन्तरिक उत्पादन प्रवर्द्धनमा जोड


दमक, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा उद्योगमा कार्यरत मजदुरहरूसँग भेटघाट गर्नुभएको छ।

दमक–४ स्थित ‘एक्सन फुट वेयर’ उद्योगमा कार्यरत २ सय ५० भन्दा बढी मजदुरसँग उहाँले प्रत्यक्ष भेट गरी उनीहरूको कामको अवस्था, उत्पादन प्रक्रिया तथा उद्योगको वर्तमान स्थितिबारे जानकारी लिनुभएको हो।

भेटका क्रममा अध्यक्ष ओलीले उद्योगबाट उत्पादन हुने जुत्ता–चप्पलको प्रकार, बजार अवस्था तथा विस्तारको सम्भावनाबारे चासो व्यक्त गर्नुभएको थियो। उद्योगका सञ्चालक चूडामणि कार्कीले यहाँ उत्पादन भएका जुत्ता–चप्पल देशभर वितरण हुँदै आएको र मागअनुसार उत्पादन बढाउन अझै नसकिएको जानकारी अध्यक्ष ओलीलाई गराउनुभयो।

उक्त अवसरमा अध्यक्ष ओलीले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै स्वदेशी उद्योगको बजार विस्तार र रोजगारी सिर्जनामा आफू प्रतिबद्ध रहने बताउनुभयो। स्वदेशमै उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले उद्योग–व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिनुभयो।

आसन्न निर्वाचन प्रचारको अन्तिम दिन अध्यक्ष ओलीले स्थानीय उद्योग र त्यहाँ कार्यरत मजदुरसँग भेटघाट गर्नुभएको हो। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवारसमेत रहनुभएका उहाँ यति बेला चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ।

आजै उहाँ झापा–५ का विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।