जनता टाइम्स

१८ फाल्गुन २०८२, सोमबार १४:४६

मबाट बेइमानी हुँदैन, धोकाधडी हुँदैन : गगन थापा 


काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भए पाँच वर्षसम्म आफूले सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मतदातासँगको भेटघाटका क्रममा उहाँले सर्लाहीका युवाहरूको अभिभावकको भूमिका निर्वाह गर्ने बताउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्ने संरचना निर्माण गर्ने घोषणा गर्नुभयो। उहाँले सर्लाही–४ मै स्थायी रूपमा सांसद कार्यालय स्थापना गर्ने र त्यस्तै प्रकारको सम्पर्क कार्यालय काठमाडौंमा पनि सञ्चालन गर्ने योजना रहेकाे बताउनुभयाे ।

उहाँका अनुसार महिनामा कम्तीमा एकपटक दुई दिनका लागि उक्त कार्यालयमा ‘जनताको दरबार’ सञ्चालन गरिनेछ, जहाँ नागरिकहरूले आफ्ना समस्या र सुझाव खुला रूपमा राख्न सक्ने व्यवस्था गरिनेछ।

सभापति थापाले चुनाव जितेपछि जादु वा चमत्कार गर्ने आश्वासन नदिने स्पष्ट पार्दै इमान्दारितालाई आफ्नो मूल प्रतिबद्धता बताउनुभयो। “मबाट बेइमानी हुँदैन, धोकाधडी हुँदैन,” उहाँले भन्नुभयो, “मैले जिम्मा लिएका पूर्वाधारका कामहरू पूरा गरेरै छाड्नेछु।”

क्षेत्रको शिक्षा र स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले विद्यालय र स्वास्थ्य चौकीहरूको वर्तमान अवस्था सुधार्ने प्रतिवद्धता जनाउनुभयो। दलित तथा विपन्न समुदायका बस्तीको अवस्था अवलोकनपछि आफू गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै उहाँले सम्मानजनक आवास र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न पहल गर्ने बताउनुभयो।

अन्य उम्मेदवारबारे टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै उहाँले राजनीतिक प्रतिस्पर्धा स्वस्थ र मर्यादित हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले अहिले देशको ध्यान सर्लाही–४ र झापा–५ जस्ता चर्चित निर्वाचन क्षेत्रतर्फ केन्द्रित भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रतिस्पर्धाले नै अन्ततः जनताको हित सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो।