जनता टाइम्स

१९ फाल्गुन २०८२, मंगलवार १३:१३

रामेछापका तीन मतदान केन्द्रमा पुनः कर्मचारी र निर्वाचन सामाग्री पठाइयो


रामेछाप, फागुन १९ । मतदानका लागि खटाइएका कर्मचारीहरू सोमबार सडक दुर्घटनामा परेपछि रामेछापका तीन मतदान केन्द्रमा मंगलबार पुनः कर्मचारी र निर्वाचन सामाग्री पठाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, रामेछापका अनुसार रामेछाप नगरपालिका–२ देउरालीस्थित शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारका लागि खटाइएका मतदान कर्मचारी र सामाग्री बोकेको गाडी सोमबार अपराह्न देउरालीको सिरुवारी क्षेत्रमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघुटारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको दुःखद निधन भएको थियो। अन्य सात जना कर्मचारी घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको र उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ।

मतदान अधिकृतको निधन तथा अन्य कर्मचारी घाइते भएपछि सम्बन्धित मतदान केन्द्रहरूमा नयाँ कर्मचारी खटाइएको जनाइएको छ। साथै दुर्घटनामा मतपत्र, मतपेटिका लगायतका केही निर्वाचन सामाग्री क्षतिग्रस्त भएकाले त्यसको सट्टामा नयाँ सामाग्रीसमेत पठाइएको छ।

यसबीच दुर्घटनामा ज्यान गुमाउनु भएका घिमिरेको मंगलबार मन्थलीस्थित तामाकोशी नदी किनारमा अन्त्येष्टि गरिएको छ। उहाँ मन्थली नगरपालिका–७ मुगिटारस्थित रुद्राक्षेश्वर माविका निमावि द्वितीय शिक्षक हुनुहुन्थ्यो।

त्यस्तै, दुर्घटनामा निधन भएका प्रहरी सहायक निरीक्षक यादवको पार्थिव शरीर उहाँको गृह जिल्ला सप्तरी पठाइएको जनाइएको छ।