जनता टाइम्स

१९ फाल्गुन २०८२, मंगलवार २०:४४

प्रतिनिधि सभा निर्वाचन अवधिभर स्वास्थ्य सेवा २४ घण्टा तयारी अवस्थामा रहन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर


काठमाडौं, फागुन १९। वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले ‘प्रतिनिधि सभा निर्वाचन, २०८२’को सन्दर्भमा सम्भावित तथा अनपेक्षित घटनाहरूको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न आज प्रदेश स्वास्थ्य मन्त्रालयबाट महत्वपूर्ण निर्देशन जारी  भएकाे जानकारी दिनुभएकाे छ ।

उहाँका अनुसार निर्वाचन अवधिभर पनि नागरिकको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै वाग्मती प्रदेश अन्तर्गत रहेका १३ वटै प्रादेशिक अस्पताल तथा सम्बन्धित सबै निकायलाई विशेष तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

मन्त्री थापा मगरले दिनुभएको जानकारीअनुसार अस्पतालहरूमा २४ घण्टा सेवा सञ्चालनलाई तयारी अवस्थामा राखिनेछ। निर्वाचन अवधिभर सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न ‘इलेक्शन मेडिकल टास्क फोर्स’ गठन गरिनेछ भने आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

उहाँले पर्याप्त औषधि, स्वास्थ्य उपकरण तथा आपतकालीन सेवाको सुनिश्चितता गरिने स्पष्ट पार्नुभयो। साथै, निर्वाचनसँग सम्बन्धित हुन सक्ने कुनै पनि अनपेक्षित घटनाबाट घाइते भएका नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

मन्त्री थापा मगरले वाग्मती प्रदेश सरकार नागरिकको जीवन र स्वास्थ्य सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचन अवधिमा पनि स्वास्थ्य सेवा प्रभावकारी, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वस्थ, सुरक्षित र मर्यादित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो।