जनता टाइम्स

२० फाल्गुन २०८२, बुधबार ११:१९

इरानमाथिको हमलापछि समस्यामा परेका नेपालीका लागि प्रवासी नेपाली मञ्चद्वारा विभिन्न देशमा ‘हेल्प–डेस्क’ स्थापना


काठमाडौं, फागुन २० । इरानमाथि भएको हमलापछि सिर्जना भएको जटिल परिस्थितिमा परेका नेपाली नागरिकहरूको सहयोगका लागि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले विभिन्न देशहरूमा ‘हेल्प–डेस्क’ स्थापना गरेको जनाएको छ।

मध्यपूर्वलगायत प्रभावित क्षेत्रहरूमा बसोबास तथा रोजगारीमा रहनुभएका नेपालीहरू हालको तनावग्रस्त र आपत्कालीन अवस्थाबाट प्रभावित हुन सक्ने भन्दै मञ्चले समन्वय तथा सहायताका लागि विशेष व्यवस्था मिलाएको हो। मञ्चका अनुसार संकटको यस घडीमा अप्ठ्यारोमा पर्नुभएका नेपालीहरूले आफू पायक पर्ने देशमा स्थापना गरिएको ‘हेल्प–डेस्क’ मा सम्पर्क गर्न सक्नुहुनेछ। ती सम्पर्क माध्यममार्फत आवश्यक सूचना, परामर्श तथा समन्वयात्मक सहयोग उपलब्ध गराइने जनाइएको छ।

हाल मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिलाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरण, सुरक्षित बसोबास तथा आवश्यक परेमा उद्धारसम्बन्धी पहलका लागि सम्बन्धित निकायसँग समेत समन्वय गरिने मञ्चले जनाएको छ। विदेशमा रहनुभएका नेपालीहरूलाई अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा समस्या परेमा तोकिएका सम्पर्क नम्बरमा जानकारी गराउन मञ्चले अनुरोध गरेको छ।