रामेछाप, फागुन २१ । रामेछाप जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
जिल्लाका ९६ मतदानस्थलअन्तर्गत २ सय ३० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लाभर सुरक्षा व्यवस्थासहित सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।
जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार बिहान ११ बजेसम्म जिल्लामा करिब १३ प्रतिशत मत खसेको छ। रामेछाप जिल्लामा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन्।
तर अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति भने अपेक्षाकृत न्यून देखिएको छ। धेरैजसो केन्द्रमा मतदान गर्न फाट्टफुट्ट मात्र मतदाता पुगेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकाय र निर्वाचन कर्मचारी परिचालन गरिएको छ। हालसम्म जिल्लाका कुनै पनि मतदान केन्द्रबाट अप्रिय घटनाको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्