काठमाडौं, फागुन २१ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। मतदानका क्रममा हराएका सबै मतपत्र पनि हालसम्म फेला नपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोज्दा एमाले र रास्वपाले विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यस पछि नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीले मतपत्रको ठेली नै बोकेर हिँडेका थिए।
मतदान अधिकृतले रोक्न खोज्दाखोज्दै कांग्रेस र नेकपा मिलेर बुथ कब्जा गर्न खोजेपछि परिस्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो। मतपत्रको ठेली नै बोकेर हिँडेका कांग्रेस र नेकपा नेताहरूलाई खोजी भइरहेको छ।
लगिएका मतपत्र अझै फिर्ता भएका छैनन् । मतपत्र फेला पार्ने कार्यसँगै परिस्थितिको मूल्याङ्कन गरेर मतदान पुनः सुरु गर्नेबारे निर्णय गरिने प्रशासनले जनाएको छ। अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।













प्रतिक्रिया दिनुहोस्