रामेछाप, फागुन २२ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रामेछापमा मतगणना ढिलो गरी सुरु भएको छ। बिहानै मतपेटिका सङ्कलनको काम सम्पन्न भए पनि मतगणनास्थल व्यवस्थापनका कारण प्रक्रिया ढिलोगरी सुरु भएको हो।
मतपेटिका सङ्कलन सम्पन्न भएपछि बिहान १० बजे सर्वदलीय बैठक बोलाइएको थियो। उक्त बैठकमा मालपोत कार्यालयको माथिल्लो तल्लामा तयार गरिएको मतगणनास्थल साँघुरो भएको भन्दै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले खुला र सहज स्थानमा मतगणना गर्ने व्यवस्था गर्न सुझाव दिनुभएको थियो।
दलहरूको सुझावपछि मालपोत कार्यालयकै तल्लो तलामा नयाँ मतगणनास्थल तयार गरिएको छ। मतगणनास्थल पुनः व्यवस्थापन गर्न समय लागेका कारण मतगणना प्रक्रिया सुरु हुन ढिलो भएको हो।
नयाँ मतगणनास्थल तयार भएसँगै दिउँसो २:३० बजेपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटक ९० हजार ७ सय १० मत खसेको छ। जिल्लामा कुल १ लाख ७८ हजार ९ सय ५५ मतदाता रहेका छन्।
मतगणना सुनापति गाउँपालिका–४ बेथानस्थित वडा कार्यालय मतदान केन्द्रबाट सुरु गरिएको छ। उक्त मतदान केन्द्रमा १ हजार ४ सय ५१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्