काठमाडौं, फागुन २२। नेकपा (एमाले)का सचिव तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार राजन भट्टराईले अब उक्त क्षेत्रबाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि उहाँले एक सार्वजनिक सन्देश जारी गर्दै यसपटक पनि मतदाताको विश्वास जित्न नसकेको उल्लेख गर्नुभएको छ। लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुने मान्यतालाई आत्मसात् गर्दै निर्वाचन परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको उहाँले बताउनुभएको छ।
भट्टराईले विजयउन्मुख उम्मेदवार तथा सम्बन्धित दललाई बधाई दिँदै निर्वाचनका क्रममा साथ, सहयोग र समर्थन गर्ने पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
उहाँले राजनीतिमा पराजय अन्तिम सत्य नभई आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर हुने उल्लेख गर्दै इतिहासले पनि यही कुरा पुष्टि गरेको बताउनुभएको छ। आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्धलाई पुनः सुदृढ गर्दै अघि बढ्दा फेरि जनताको विश्वास जित्न सकिने उहाँको भनाइ छ।
लोकतान्त्रिक यात्रामा धैर्यता, आत्ममूल्यांकन र निरन्तरताको सधैं महत्व रहने उल्लेख गर्दै उहाँले आफूहरू त्यसैलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताउनुभएको छ।
सन्देशमा भट्टराईले व्यक्तिगत निर्णयस्वरूप काठमाडौं क्षेत्र नम्बर ४ बाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराउनुभएको छ। साथै मतदाताले देखाएको साथ, माया र विश्वासप्रति सधैं कृतज्ञ रहने पनि उहाँले उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्