जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार ०९:१०

सिन्धुली–१ मा एमालेका प्रदीप कटुवाल अग्रस्थानमा


सिन्धुली, फागुन २३ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रदीप कटुवाल अग्रस्थानमा रहनुभएको छ ।

तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका तथा दुधौली नगरपालिकाका वडा नं. १, २ र ३ सम्मको मतगणना सम्पन्न हुँदासम्म कटुवालले १० हजार ७०८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वल बरालले १० हजार ८ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनेन्द्र कार्कीले ८ हजार २२७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले २ हजार ७७६ मत प्राप्त गर्नुभएको छ ।

हालसम्मको मत परिणामअनुसार कटुवालले बरालमाथि ७०० मतको अग्रता कायम गर्नुभएको छ ।

अहिलेसम्म चार स्थानीय तहका केही वडाको मतगणना सम्पन्न भइसकेको छ । दुधौली नगरपालिकाका ११ वटा वडा र कमलामाई नगरपालिकाका ३ वटा वडा गरी कुल १४ वडाको मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।