जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार २१:५१

रोल्पामा वर्षमान पुन विजयी, तेस्रोपटक संसद् यात्रामा


काठमाडौं, फागुन २३ । रोल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट वर्षमान पुन निर्वाचित हुनुभएको छ।

नेपाली कम्युनिष्ट पार्टीका नेता पुन २७ हजार ४६० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वली ले १२ हजार ८ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालराम थापाले १० हजार ८९४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गोकुलप्रसाद घर्ती ले ९ हजार ९३३ मत प्राप्त गर्नुभएको छ। साथै माओवादीकै उम्मेदवार चूडामणि वलीले ३ हजार ७१४ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

रोल्पा निर्वाचन क्षेत्रमा कुल १ लाख ४९ हजार ५९७ मतदाता रहेकामा ६८ हजार ७७६ मत खसेको थियो, जुन कुल मतदाताको ४६.३९ प्रतिशत हो। खसेको मतमध्ये ६५ हजार ६३२ मत सदर भएको छ भने ३ हजार १४४ मत बदर भएको छ।

रोल्पाबाट निर्वाचित हुनुभएका पुनको यो तेस्रो संसदीय विजय हो। उहाँले यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।