काठमाडौं, फागुन २४। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १२५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगले बिहान सवा ८ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९८ सिट जित्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस १४ सिटसहित दोस्रो स्थानमा रहेको छ। अझै मतगणना जारी रहेका केही क्षेत्रमध्ये ३ स्थानमा कांग्रेसका उम्मेदवारले अग्रता कायम गर्नुभएको जनाइएको छ।
हालसम्मको परिणामअनुसार विभिन्न प्रदेशबाट नेपाली कांग्रेसका १४ जना उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
कोशी प्रदेशबाट पाँचथरबाट नरेन्द्रकुमार केरुङ, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाशसिंह कार्की निर्वाचित हुनुभएको छ।
मधेश प्रदेशअन्तर्गत रौतहट–२ बाट मो. फिरदोश आलम विजयी हुनुभएको छ।
गण्डकी प्रदेशबाट मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा–१ बाट सन्दीप राना र कपिलवस्तु–३ बाट अभिषेकप्रताप शाह विजयी हुनुभएको छ।
कर्णाली प्रदेशबाट हुम्लामा जयपती रोकाया, जाजरकोटबाट खडकबहादुर बुढा, दैलेखबाट वासना थापा तथा कर्णाली–१ बाट विष्णुबहादुर खड्का निर्वाचित हुनुभएको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशबाट अछाम–१ मा भरतकुमार स्वार र डोटीबाट भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
निर्वाचन आयोगका अनुसार बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेकाले थप परिणाम सार्वजनिक हुने क्रम जारी रहनेछ।













प्रतिक्रिया दिनुहोस्