मोदीसँग टेलिफोन संवादमा भएको चुरो कुरो लुकाएर बालेनले ‘नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ’ भन्दै भारतले आइतबार राती भएको खेलमा टी–२० विश्वकप जितेकोमा भने बधाई दिनुभएको छ ।
काठमाडौं, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन वार्ता भएको २० घण्टापछि जवाफ फर्काउनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत टेलिफोन वार्ताको जानकारी सार्वजनिक गरेको २० घण्टापछि बालेनले ट्वीटरमार्फत नै धन्यवादसहित जवाफ फर्काउनु भएको हो ।
जवाफमा बालेनले भारतसँगको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन र रास्वपाका सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी बधाई ज्ञापन गरेकोबारे फेसबुकमार्फत जानकारी गराउनु भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले फेसबुकमा लेख्नुभएको छ, ‘मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु । सँगै नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको छु ।’ उहाँको यही पोस्टमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनेर झापा–५ बाट निर्वाचित बालेनले मंगलवार साँझ कमेन्टमार्फत जवाफ दिनुभएको हो ।
‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू । नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ भावी प्रधानमन्त्री घोषणा गरिएका रास्वपा वरिष्ठ नेता बालेनले लेख्नुभएको छ, ‘साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

बालेनले वार्तामा भएको कुराकानीको विषयमा भने केही उल्लेख गर्नुभएको छैन । भारतका प्रधानमन्त्री र नेपालमा चुनाव जितेर प्रधानमन्त्री बन्न लागेको व्यक्तिको बिच भएको वार्ताबारे नेपाली नागरिकलाई विशेष चासो रहेको भए पनि बालेनले अहिलेसम्म केही जानकारी नदिनुभएको हो ।
बालेनले मोदीसँग भएको वार्ताको जानकारी दिनुपर्ने माग पनि उठ्न थालेको छ । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका व्यक्तिले छिमेकी मुलुकका प्रधानमन्त्रीसँग भएको वार्ताको विषयमा तत्कालै नेपाली जनतालाई जानकारी दिनुपर्नेमा २० घण्टा बित्नलाग्दासमेत चुप बस्नु राम्रो नागरिकप्रतिको गैरजिम्मेवार व्यवहारका रूपमा रास्वपाभित्रकै नेताहरूले लिएका छन् ।













प्रतिक्रिया दिनुहोस्