जनता टाइम्स

२७ फाल्गुन २०८२, बुधबार ०९:२५

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घद्वारा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ घोषणा


काठमाडौं फागुन २७ । संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ सम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले उक्त प्रस्ताव पारित गरेसँगै अब विश्वभर हरेक वर्ष अप्रिल १५ तारिखका दिन यो दिवस मनाइने भएको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लाेकबहादुर थापाका अनुसार प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ।

थापाका अनुसार प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणालीको प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएको छ। प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने विभिन्न राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै उहाँले यस पहलले विश्व समुदायलाई समग्र स्वास्थ्यप्रति अझ सचेत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।