काठमाडौं, फागुन २७। नेपाली कांग्रेसले जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने निर्णय गरेको छ। राष्ट्रिय सभा संसदीय दलको बैठकले आगामी दिनमा जनताको अपेक्षा र भावनालाई सम्मान गर्दै दलका तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध, सक्रिय र विशेष जिम्मेवारीका साथ प्रस्तुत हुने निर्णय गरेको हो।
राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायले बैठकले दलका सदस्यहरूलाई राष्ट्रिय सभामा थप जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिका विषयमा विस्तृत छलफल भएको थियो।
बैठकपछि राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले बदलिँदो राजनीतिक परिस्थितिमा आफ्नो जिम्मेवारी थपिएको बताउनुभयो। उहाँले जनताको भावना र अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘हामीले जनताको भावना अनुरूप अझ बढी सचेत, जागरूक र विशेष जिम्मेवारीका साथ काम गर्नुपर्छ भन्ने आजको बैठकको निष्कर्ष हो, राष्ट्रिय सभामा हाम्रो सङ्ख्या अहिले २५ पुगेको छ, त्यसैले जिम्मेवारी पनि हाम्रो सबैभन्दा ठूलो हुन्छ।’
सिटौलाले राष्ट्रिय सभामा नेपाली कांग्रेसले रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। उहाँका अनुसार लोकतान्त्रिक मूल्य–मान्यता, जनताको अधिकार र राष्ट्रिय हितका विषयमा कांग्रेसले सदनमा सशक्त ढङ्गले आवाज उठाउनेछ।













प्रतिक्रिया दिनुहोस्