काठमाडौं, फागुन २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सँग भएको प्रधानमन्त्री नरेन्द्र मोदीको टेलिफोन संवादबारे भारतीय विदेश मन्त्रालयले मुख खोलेको छ ।
चुनावमा दुई तिहाइको हाराहारी जितेर सरकार गठन गर्न लागेको रास्वपाका सभापति रवि र प्रधानमन्त्रीका उम्मेदवार बालेनले नेपाली जनतालाई कुनै जानकारी नदिई ‘चुपचाप घण्टी छाप’ बनाएर दबाएको बेला भारतीय विदेश मन्त्रालयले मुख खोलेको हो ।
बिहीबार भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनसँग टेलिफोन संवादमा भएको कुराकानीबारे जानकारी गराएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै फोन संवादमा तीन मुख्य कुरा भएको तथ्य खोल्नुभयो । उहाँले भारत र नेपालबिच बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको स्मरण गर्दै वार्ताको तथ्य खोल्नुभएको हो ।
‘प्रधानमन्त्री (मोदी) ले उहाँहरू (रवि–बालेन) लाई के सन्देश दिनुभयो भने, एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न उत्सुक छ,’ प्रधानमन्त्री मोदीको फोन संवादको खुलासा गर्दै प्रवक्ता जैसवालले भन्नुभयो, ‘साथै दुई देशबिच साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ ।’
छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग रहेको पनि उनले बताएका छन् ।जैसवालले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर आएको परिणामलाई भारतले स्वागत गरेको प्रधानमन्त्री मोदीले सन्देश दिनुभएको जानकारी पनि दिनुभयो ।
‘नेपालमा चुनाव सफलतापूर्वक सम्पन्न भएपछि, हामीले यस निर्वाचनको परिणामलाई स्वागत गरेका छौँ,’ प्रधानमन्त्री मोदीको भनाई उद्धृत गर्दै विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भन्नुभयो । यसै गरी मोदीले भारत र नेपालबिचको सम्बन्ध झनै मजबुत हुने विश्वाससमेत व्यक्त गर्नुभएको जैसवालले बताउनु भयो । ‘हामी आगामी दिनहरूमा यो सम्बन्ध निरन्तर अघि बढ्ने र झनै मजबुत हुँदै जाने अपेक्षा गर्नुभयो,’ फोन संवादबारे प्रवक्ता जैसवालले भन्नुभयो ।
फोन संवादको विषयमा सोही दिन भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्रवीटर) मार्फत सूचना सार्वजनिक गर्नुभएको थियो । तर दुई तिहाइको हाराहारी जितेर सरकार चलाउने अन्तिम तयारीमा रहेको रास्वपाका सभापति लामिछाने र प्रधानमन्त्री बन्न लाग्नुभएका बालेनले भने हालसम्म नेपाली जनतालाई कुनै जानकारी दिनुभएको छैन । उहाँहरूले चुनावमा ‘चुपचाप घण्टी छाप’ भने जसरी मोदीसँगको वार्ताबारे पनि ‘चुपचाप बस्ने’ जानकारी नदिने नीति अख्तियार गर्नुभएको छ ।
प्रश्नलाई हतियार बनाएर जबाफदेहिता खोज्दै निर्वाचनमा सानदार विजयपछि रास्वपाका दुई शीर्ष नेता रवि र बालेनले छिमेकी मित्रराष्ट्र भारतकै प्रधानमन्त्रीसँगको वार्ताको विषयमा समेत कुनै जानकारी नदिएर बस्नुभएको हो । यसबिचमा अन्य मुलुकले समेत बधाई दिनुका साथै संवाद भएको स्रोतले बताएको छ ।
ती सबै संवादबारे दुवै नेता चुपचाप रहनुभएको छ । राजनीतिक विश्लेषकहरूले रवि र बालेनको यो शैलीलाई सत्तामा पुगेपछि गैरुजिम्मेवार र आफ्ना देशका नागरिकलाई जानकारी नदिने नीतिका रूपमा अर्थ्याएका छन् ।













प्रतिक्रिया दिनुहोस्