रामेछाप, चैत १ । रामेछापका ग्रामीण भेगमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । गाउँ–गाउँमा सञ्चालन गरिँदै आएका स्वास्थ्य शिविर तथा घरदैलो स्वास्थ्य सेवामा स्थानीयको बढ्दो सहभागिताले आयुर्वेद उपचारप्रतिको विश्वास र आकर्षण बढ्दै गएको संकेत गरेको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सञ्चालन गर्दै आएको स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत शनिबार जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा आयोजित शिविरमा दुई सयभन्दा बढी बिरामीले सेवा लिनुभएको छ । गाेकुलगंगा गाउँपालिकाकाे सहकार्यमा भएकाे शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको चिकित्सालयका प्रमुख दीपककुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अभाव भएका नागरिकलाई लक्षित गरेर यस्ता शिविर सञ्चालन गरिँदै आएको छ ।

गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा सञ्चालन भएको उक्त शिविरमा डा. सविता भण्डारी, डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । शिविरमा दम, हाडजोर्नीको दुखाइ, ग्यास्ट्रिक, खोकी, एलर्जी तथा छालासम्बन्धी पुराना रोगका बिरामीहरूको सङ्ख्या उल्लेख्य देखिएको डा. भण्डारीले बताउनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा यस्ता रोगका बिरामीहरू धेरै भेटिने गरेको छ ।

गाउँमै स्वास्थ्य शिविर सञ्चालन हुँदा आफूहरूलाई उपचार सेवा लिन सहज भएको स्थानीयले बताएका छन् । स्थानीय पूर्णबहादुर कार्कीले हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक, महिला तथा अन्य बिरामीलाई गाउँमै शिविर सञ्चालन हुँदा निकै राहत पुगेको बताउनुभयो ।
त्यसैगरी लामो समयदेखि कुर्कुच्चा तथा शरीरका विभिन्न जोर्नी दुखाइबाट पीडित रहनुभएका स्थानीय एङजी शेर्पाले गाउँमै शिविर आएपछि उपचार गराउन पाएको बताउनुभयो । उपचारपछि स्वास्थ्यमा सुधार भए सेवा दिनुहुने सबैलाई धन्यवाद दिने भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नबराज पथिकले स्थानीय तहको मागअनुसार जिल्लाका विभिन्न क्षेत्रमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
चिकित्सालयले स्वास्थ्य शिविरसँगै मन्थली तथा आसपासका क्षेत्रमा साप्ताहिक रूपमा घरदैलो स्वास्थ्य सेवा पनि सञ्चालन गर्दै आएको छ । विभिन्न टोलमा पुगेर दिइने यस सेवामा पनि स्थानीयको उल्लेख्य उपस्थिति रहने गरेको डा. गैरेले बताउनुभयो ।

उहाँका अनुसार घरदैलो जाँचका क्रममा उच्च रक्तचाप र मधुमेहका बिरामीहरू उल्लेख्य रूपमा भेटिने गरेका छन् । यस्ता बिरामीलाई चिकित्सालयमा बोलाएर थप परीक्षण गरी उपचार गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

चिकित्सालयले बिरामी जाँच तथा निःशुल्क औषधि वितरणका साथै पूर्वकर्म/पञ्चकर्म, फिजियोथेरापी, अकुपञ्चार, प्याथोलोजी ल्याब सेवा, स्तनपायी आमा कार्यक्रम तथा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धनलगायतका सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्