जनता टाइम्स

१ चैत्र २०८२, आईतवार १५:२०

श्रम संस्कृति पार्टीले लगायो समानुपातिकतर्फ चार सांसदको नाम टुंगो


काठमाडौं, चैत १ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ चार जना सांसदको नाम टुंगो लगाएको छ ।

धरानमा आइतबार बसेको केन्द्रीय समिति बैठकले चार जनाको नाम अन्तिम रूपमा टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले निर्णय गरेको नामावली निर्वाचन आयोगमा पठाइनेछ ।

पार्टीले समानुपातिक प्रणालीअन्तर्गत विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुने गरी नाम चयन गरेको छ । आदिवासी जनजाति क्लस्टरबाट पूर्ण लिम्बू (सुनसरी), मधेशी क्लस्टरबाट रुवीकुमारी ठाकुर (धनुषा), खसआर्य क्लस्टरबाट अम्बिकादेवी संग्रौला (सुनसरी) र दलित क्लस्टरबाट राधिका रम्तेल (सुर्खेत) को नाम टुंगो लगाइएको हो ।

पार्टीले प्रतिनिधिसभाको समानुपातिक प्रणालीअन्तर्गत प्राप्त सिटअनुसार उक्त नामावली आयोगमा बुझाउने तयारी गरेको जनाएको छ । आयाेगमा नाम बुझाउने आज अन्तिम दिन हाे ।