जनता टाइम्स

२ चैत्र २०८२, सोमबार १२:५९

हावाहुरीले दोलखा र रामेछापमा घरका छाना उडायो, २२ भन्दा बढी घरमा क्षति


काठमाडौं, चैत २ । आइतबार आएको हावाहुरीका कारण दोलखा र रामेछापका विभिन्न स्थानमा घरहरूमा क्षति पुगेको छ। हावाहुरीले दुवै जिल्लामा गरी एक दर्जनभन्दा बढी घरका छाना उडाएको तथा केही घरमा आंशिक क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ।

दोलखामा हावाहुरीका कारण जिरी नगरपालिका र तामाकोसी गाउँपालिकाका विभिन्न स्थानमा गरी ११ घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। दोलखा प्रहरीले दिएको विवरण अनुसार तामाकोसी गाउँपालिका–५ कल्लेरीमा ७ घरका छाना उडेको छ भने तामाकोसी गाउँपालिका–१ भीरकोटमा ३ घरमा क्षति पुगेको छ। त्यस्तै जिरी नगरपालिकामा पनि एक घरको छाना हावाहुरीले उडाएको छ।

हावाहुरीका कारण घरका छाना उड्दा स्थानीय बासिन्दा त्रासमा परेका छन्। कतिपय घरपरिवार अस्थायी रूपमा सुरक्षित स्थानमा बस्न बाध्य भएका छन्।

यस्तै, रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा पनि हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। वडा अध्यक्ष प्रदीप तामाङका अनुसार हावाहुरीका कारण दुरागाउँका ५ घरका छाना उडेर पूर्ण रूपमा क्षति पुगेको छ।

उहाँका अनुसार हावाहुरीका कारण थप ५ घरमा आंशिक क्षति पुगेको छ। केही घरका छानाका भागहरू उडेको छन् भने केही घरका बरन्डाहरूमा क्षति पुगेको छ।

घरमा क्षति पुगेपछि प्रभावित स्थानीयलाई बसोबासको समस्या समेत भएको छ। कतिपय परिवार छिमेकी तथा आफन्तकहाँ आश्रय लिएर बस्न बाध्य भएका छन्।

त्यसैगरी रामेछापकै लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा रुख ढलेर एउटा घरमा क्षति पुगेको बताइएको छ।

हावाहुरीका कारण घर तथा भौतिक संरचनामा क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।