रामेछाप, चैत ४ । रामेछापको ऐतिहासिक साँघुटार बजारमा निर्माण गरिएको नेपालका आधुनिक डिजाइनका झोलुङ्गे पुलमध्ये एक पुल पूर्वी नेपालकाे यात्राको साँक्षी बनेर आज पनि इतिहास बोकेर ठिङ्ग उभिएको छ।
साे पुल हार्पर एण्ड कम्पनीले नेपालमा निर्माण गरेका आधुनीक पुल मध्ये याे पुल पनि एक हाे । हार्पर एण्ड कम्पनीले नेपालमा निर्माण गरेका पुलहरूको अध्ययन गर्न तथा तिनको वर्तमान अवस्था र तस्बिर संकलन गर्ने उद्देश्यले सो कम्पनीका मालिक एवं डिजाइनर लुइस हार्परका नाति डगलस हार्पर नेपाल आउनु भएको थियो।
उहाँ सातवटा पुलको जानकारी लिएर नेपाल आउनु भएको भए पनि मंगलटारस्थित झोलुङ्गे पुलको अध्ययनका क्रममा स्थानीय कालु तामाङले रामेछाप र ओखलढुङ्गा जोड्ने लिखु खोलामाथि साँघुटारमा पनि यस्तै पुल रहेको जानकारी दिनु भएपछि उहाँहरूको टोली त्यहाँ पनि पुगेको थियो।
साँघुटार बजारस्थित लिखु खोलामाथि बनेको उक्त आधुनिक झोलुङ्गे पुल पनि हार्पर एण्ड कम्पनीले विसं १९६० को दशकमा निर्माण गरेको पुलमध्ये एक भएको अध्ययनबाट पुष्टि भएको छ। काठमाडौंबाट पूर्वी नेपालतर्फ ओखलढुङ्गा हुँदै खोटाङ र भोजपुरसम्म जाने हुलाकी पैदल मार्गमा पर्ने लिखु खोला गहिरो तथा तीव्र बहावका कारण डुङ्गा सञ्चालन गर्न नसकिने भएकाले सो स्थानमा पुल निर्माण गरिएको बताइएको छ।

पुल निर्माण भएपछि मानिसहरूको आवागमन बढ्दै गएर साँघुटार बजार स्थापना भएको स्थानीयवासी बताउनु हुन्छ। प्रारम्भमा स्थानीय नेवार समुदायले नाङ्ले पसलबाट व्यापार सुरु गरेको उक्त बजारमा पछि धुलिखेल र भक्तपुरबाट आएका नेवार व्यापारीहरूले व्यापार विस्तार गरेका थिए। ‘साँघु’ रहेको टारमा बजार बसेकाले यस स्थानको नाम नै साँघुटार बजार रहन गएको जनविश्वास रहेको छ।
हाल सो पुलको नजिकै ओखलढुङ्गा जाने पक्की पुल निर्माण भइसकेपछि पुरानो झोलुङ्गे पुलको प्रयोग मुख्यतः स्थानीयवासीकाे खेतीपातीका लागि आवतजावत गर्न मात्रै हुने गरेको छ।
पूर्वी नेपालतर्फ पैदल यात्रा गर्नुपर्ने समयमा साँघुटारको पुल र बजारको विशेष महत्व रहेको थियो। यात्रुहरूलाई बास बस्नुपर्ने भएकाले पुलसँगै बजार विकास हुँदै गएको इतिहासले देखाउँछ।













प्रतिक्रिया दिनुहोस्