बुटवल, चैत ७ । नेकपा एमालेका नेता तथा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई पहिलाकै लयमा फर्काउन भन्दै तीन बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।
निर्वाचनमा पार्टीको नराम्रो पराजयपछि एकअर्कामाथि दोषारोपण नभई आमुल सुधारको पक्षमा समीक्षा हुनुपर्ने भन्दै पाण्डेले आफ्नो तीन बुँदे प्रस्ताव तत्काल कार्यान्वयन गरे एमाले झनै शक्तिशाली भएर उदाउने ठोकुवा पनि गर्नुभयो ।
‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ?’ भन्ने प्रश्न सवैतिर सुनिन्छ । मेरो विश्वास छ, हामी पहिलेकै लयमा फर्किने मात्र होइन, झन आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ । तर यसका लागि हामीले इतिहासको ब्याजमा होइन, भविष्यको लगानीमा ध्यान दिनुपर्छ,’ पाण्डेले भन्नुभयो, ‘अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधिसहितको एउटा गतिशील संस्था बन्नुपर्छ, त्यसतर्फ हाम्रो पाइला चल्नुपर्छ ।’
एमाले नेता पाण्डेका अनुसार पार्टीलाई शक्तिशाली बनाउन पहिलो काम विज्ञतामा आधारित राजनीति, दोस्रो डिजिटल मेरिटोक्रेसी र तेस्रो, संरचित पुस्तान्तरण हुन । उहाँले तीन बुँदालाई सबिस्तार ब्याख्यासमेत गर्नुभएको छ ।
पहिलो बुँदा ‘विज्ञतामा आधारित राजनीति’ को ब्याख्या गर्दै पाण्डेले भन्नुभयो, ‘अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ । दोस्रो व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गर्नुपर्छ भन्ने पाण्डेको भनाई छ ।
यस्तै तेस्रो बुँदा संरचित पुस्तान्तरणबारे पाण्डेले भन्नुभएको छ, ‘नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ।’ कार्यक्रममा पाण्डेले पार्टीभित्रको संरचनागत समस्या, मतदाताको मनोविज्ञान र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न पनि उठाउनु भयो ।

‘सच्चिने कि सकिने, सकिन छिटो हुन्छ, सच्चिने अन्तिम मौका छ,’ पाण्डेले भन्नुभयो । उहाँले पछिल्लो निर्वाचनको विश्लेषण गर्दै प्रविधि र पहुँचको प्रभावसमेत औंल्याउनु भयो । ‘इन्टरनेट भएको ठाउँमा मत परिवर्तन भयो, नभएको ठाउँमा जोगियो । अर्को बिग्रेर पालो आउँछ भन्ने होइन, हिजो हामीले पछारेकै हो ०७४ मा अहिले नि जितेको मातिनुहुँदैन,’ पाण्डेले भन्नुभयो ।
नेता पाण्डेले पार्टीले सही दिशा नलिए गम्भीर संकट आउन सक्ने चेतावनी दिनुभयो । ‘हामीले ठिक बाटो नलिए संकट छ, जोखिम ट्रान्जिसनमा छन्, संकल्प गरेर गए समस्या छैन, कार्यशैली सबै फाल्नुपर्छ,’ पाण्डेले भन्नुभयो, ‘अब कुराले परिवर्तन हुँदैन, सबै फेर्न तयार हुनुपर्छ ।’
उहाँले आत्मसमीक्षा र सुधारको आवश्यकता औंल्याउँदै पुनर्बिचार नगरे सवै सत्यानास हुने बताउनु भयो । ‘रिथिङ (पुनर्बिचार) गरौं, नभए सामूहिक मलामी जानुपर्ने हुन्छ, नेगेटिभ एंगलबाट पोजेटिभ बनाउन आएको हो,’ पाण्डेको भनाई थियो ।
पार्टीभित्र केही नेताहरूमा आत्मसन्तुष्टिको क्रम बढेको भन्दै सोप्रति पनि पाण्डेले कडा ब्यंग्य गर्नुभयो । ‘आफैं पल्टेको छ, अरूलाई खुच्चिङ भन्ने भएको छ एमालेका लागि त्यो घातक हो,’ पाण्डेले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्