जनता टाइम्स

८ चैत्र २०८२, आईतवार ०८:२४

पानी संरक्षण र समान पहुँचका लागि सहकार्य आवश्यक : राष्ट्रपति पौडेल


काठमाडौ, चैत ८। राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।

विश्व पानी दिवस २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे।

राष्ट्रपति पौडेलले ‘पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो’ भन्दै मानव सभ्यताको विकासदेखि वर्तमान समयसम्म पानीले जीवनका हरेक पक्षलाई दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ । उहाँले प्राचीन सभ्यताहरू नदी किनारमा विकास भएका भए पनि हालको अवस्थामा प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउनुभयाे।

उहाँले भूमिगत जलस्रोतलाई महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा उल्लेख गर्दै यसले पारिस्थितिकीय प्रणालीलाई दिगो बनाउने, नदीको बहाव व्यवस्थापन गर्ने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने तथा सुरक्षित पिउने पानी आपूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । तर बढ्दो सहरीकरण, भौतिक पूर्वाधार निर्माण, प्राकृतिक विनास, जलवायु परिवर्तन तथा प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गएको उहाँको भनाइ छ ।

सन्देशमा भूमिगत जलस्रोतको अतिदोहन, सहरी क्षेत्रमा पक्की संरचनाको अत्यधिक निर्माण र पुनर्भरणमा आएको अवरोधका कारण जमिनमुनिको पानीको सतह घट्दै गएको उल्लेख गरिएको छ । साथै अव्यवस्थित बस्ती विस्तार र औद्योगीकरणका कारण जलस्रोत प्रदूषित हुँदै गएकोतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

भविष्यमा आउन सक्ने जलसङ्कटलाई मध्यनजर गर्दै जलाधार क्षेत्रको संरक्षण, भूमिगत जलस्रोतको पुनर्भरण तथा ग्रामीण क्षेत्रमा आहाल, पोखरी र तालतलैयाजस्ता परम्परागत विधिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्वभर पानी दिवस मनाइँदै आएको छ । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ ।