काठमाडौं, चैत ८ । चुनावमा लज्जास्पद हार बेहोरेको अघिल्लो संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसमा समानान्तर गतिबिधि पुनः सुरु भएको छ ।
चुनावको बेला चुपचाप बसेर घन्टीमा छाप हानेको तात्कालिन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समुहले गगन थापा नेतृत्वको कांग्रेस अबैधानिक ठहर गर्दै चुनाव परिणामपछि पुनः समानान्तर गतिबिधि थालेपछि अव कांग्रेस औपचारिक बिभाजनतिर लागेको छ ।
बिभिन्न शक्तिराष्ट्रहरूको योजना र प्रधानमन्त्री सुशिला कार्कीको बिशेष पहलकदमीमा बिशेष महाधिवेशनको नाममा थापाले पार्टी सत्ता ‘कू’ गरेर नेतृत्व लिनुभएको देउवा समुहको बुझाइ रहेको छ । प्रधानमन्त्री कार्कीको सत्ताबाट बहिर्गमन हुनै लाग्दा अव समय आयो भन्दै चुपचाप बसेको देउवा समुहले समानान्तर गतिबिधि थालेको हो ।
बिशेष महाधिवेशनमा सेटिङ मिलाएर बैधता पाएको भन्दै अदालत पुगेको तात्कालिन संस्थापन पक्ष चुनावमा सून्यमा झर्ने अवस्था आएको भन्दै प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनावचिन्ह ‘रुख’ लिएर प्रतिस्पर्धा गर्न सहमत भएको थियो । तर चुनावमा शाख नै खत्तम भएको भन्दै देउवा समुह जुर्मुराएको छ भने थापा स्वयं राजीनामा दिएर आफूले छानेको केन्द्रीय कमिटीभित्रै आलोचनाको सामना गर्न परिरहेको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई सोही महाधिवेशनबाट निर्वाचित दुई महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्माले पुस २७ गतेबाट बिशेष महाधिवेशन गरी कू गर्नुभएको थियो । देउवाले भदौ २३ र २४ को जेन–जी आन्दोलनलगत्तै उपसभापति पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक सभापति’ को जिम्मेवारी दिए पनि पार्टी सत्ता कब्जा गर्ने मौका यही हो भन्दै पुस २७ गते थापा समुहले काठमाडौंमा विशेष महाधिवेशन गरेको थियो । सोही विशेष महाधिवेशनबाट गगन थापा सभापति र बिश्वप्रकाश उपसभापति छानिनु भएको हो ।
निर्वाचन आयोगले सोही समुहलाई आधिकारिकता दिएपछि चुपचाप बसेको देउवा समुह अव जागेको छ । कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यही बीचमा पराजयको नैतिक जिम्मेवारी लिँदै दुई महिना पनि नबित्दै गगनले राजीनामा दिनुपरेको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले पदबाट राजीनामा दिएपछि उपसभापति शर्माले कांग्रेस बैठकको ‘सभापतित्व’ गरिरहनु भएको छ ।
देउवाले पूर्णबहादुरलाई कार्यबहाक बनाएको घटना थापा समुहमा पनि दोहोरिएको छ । बिश्वप्रकाशले कार्यबहाक सभापतिको काम थालेसँगै अहिले कांग्रेसमा दुई सभापति र दुई कार्यवाहक सभापति रहेको अवस्था छ । आइतवारबाट देउवा समुहका कार्यबहाक सभापति खडकाले आफूहरु नै बैधानिक भन्दै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णयसहित छलफल अघि बढाउनु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशबाट निर्वाचित केन्द्रीय समितिको बैठक चलिरहँदा खडकाले धुम्बाराहीको एक होटलमा आइतवार १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसम्पादन समितिको बैठक राखेर काम थाल्नुभएको हो । सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रीट दिएर पार्टीको आधिकारितासम्बन्धी कानुनी लडाइँ जारी राख्नुभएको छ । अव पार्टीभित्र पनि अभियान अघि बढाउनु भएको हो ।
निर्वाचन आयोगले मान्यता दिएको र सर्वोच्च अदालतलेपनि अन्तरिम आदेश नदिएको अवस्थामा विशेषम महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले आफ्नै हस्ताक्षरमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट वितरण गर्नुभयो । विशेष महाधिवेशनको पक्षमा नभएपनि कतिपय नेताहरूले गगनकै हस्ताक्षरमा चुनाव लडे । तर निर्वाचनको परिणाम निराशाजनक भएपछि दुवै पक्षले आ–आफ्नै गतिविधिलाई अगाडि बढाएका हुन ।
देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समितिका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा चुनावसम्म पार्टी हितका लागि स्थगन गरिएका बैठकहरू अब सुचारु हुने सार्वजनिक घोषणा गरिसक्नुभएको छ । बिश्वकर्माका अनुसार अब केही दिनमा देउवा सभापति र खड्का कार्यवाहक सभापति रहेको कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने छ ।













प्रतिक्रिया दिनुहोस्