काठमाडौं, चैत १०। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरूको पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ।
काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले आफ्नो पार्टीलाई सरकारमा जाने म्यान्डेट नदिएको बताउनुभयो। उहाँले आफूहरू जनताको म्यान्डेटअनुसार नै अगाडि बढ्ने स्पष्ट गर्नुभयो। उहाँले भन्नुभयो, ‘जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिनुभएकोले हामी सोही अनुसार काम गर्नेछौँ।’
सञ्चारकर्मीहरूले देशका लागि राम्रो काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा बोलाए सहभागी हुने वा नहुने भन्ने जिज्ञासामा उहाँले सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभयो। उहाँले राम्रो काम गर्ने पक्षलाई आफ्नो पार्टीको सधैँ साथ र सहयोग रहने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी राम्रो कामलाई साथ दिन्छौँ, नराम्रो कामको सधैँ विरोध गर्छौँ।’
उहाँले रास्वपाबाट बालेन्द्र साह नभई रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने धारणा पुनः दोहोर्याउनुभयो। उहाँले प्रतिपक्षले उठाएका प्रश्नहरूको समयमै जवाफ दिन सक्ने व्यक्ति नै प्रधानमन्त्री हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले श्रम संस्कृति पार्टीलाई जनताले अहिले प्रश्न गर्ने भूमिकामा पुर्याएको बताउँदै भन्नुभयो, ‘हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौँ, हामीले गरेको प्रश्नको उत्तर समय दिएर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनुपर्छ भन्ने हाम्रो धारणा हो।’
चुनावअघि आफूले ‘प्रधानमन्त्री बन्छु’ भनेको विषयमा पनि उहाँले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीले पनि भन्नुभएको हो, गगन थापाले पनि भन्नुभएको हो, कुलमान घिसिङले पनि भन्नुभएको हो, मैले पनि प्रधानमन्त्री बन्छु भनेको हो।’
तर अहिले जनताको मतभन्दा आफ्नो व्यक्तिगत अभिव्यक्ति ठूलो नहुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘जनताले प्रधानमन्त्री बनाउने मत दिनुभएन, मेरो बोलीले मात्र प्रधानमन्त्री हुने कुरा हुँदैन।’
उहाँले आफूहरूलाई जनताले लहर वा लहडका आधारमा मत नदिएको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘हामीलाई किन प्रधानमन्त्री बनाउने मत आएन, त्यो जनतालाई नै सोध्नुपर्छ।’
उहाँले जनताभन्दा माथि आफू नरहेको प्रतिक्रिया दिनुभयो।













प्रतिक्रिया दिनुहोस्