जनता टाइम्स

१३ चैत्र २०८२, शुक्रबार २१:०५

खाँडादेवी विकास कोषको १३ औँ साधारण सभा, खाँडादेवीको विकासमा सरोकारवालाको प्रतिबद्धता 


रामेछाप, चैत १३ । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवीको संरक्षण र प्रवर्धनको लागि गठन भएको खाँडादेवी विकास कोषको तेह्रौँ वार्षिक साधारण सभा शुक्रबार खाँडादेवीमा सम्पन्न भएको छ ।

खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङको अध्यक्षता तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साधारण सभा उद्घाटन गर्दै श्रेष्ठले खाँडादेवी ऐतिहासिक धार्मिक शक्तिपीठ भएकोले सबैको साझा सम्पत्ति भएको बताउनुभयो । उहाँले यसको विकासका लागि सबैले अपनत्व लिनु पर्ने बताउनुभयो । वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण प्रवर्धनका लागि पनि यस्ता कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विकास कोषले खाँडादेवीको विकास र संरक्षणका लागि गरेको काम सराहनीय भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

श्रेष्ठले समग्र रामेछापको पर्यटन प्रवर्धनका लागि पनि खाँडादेवीको विशेष महत्त्व भएको बताइनुभयो । उहाँले खाँडादेवीको बृहत्तर विकासको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले खाँडादेवी, सुनापति र शैलुङलाई जोडेर पर्यटन प्रवर्धनको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यसको लागि सुनापति गाउँपालिका सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

खाँडादेवी गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तामाङले खाँडादेवीको विकास, प्रचार र व्यवस्थापनको लागि विकास कोषले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । रामेछापको पर्यटन विकासमा खाँडादेवीको ठुलो महत्त्व भएको उहाँले स्पष्ट पार्नुभयो ।

खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले खाँडादेवी देशकै ऐतिहासिक शक्तिपीठ भएकोले यसको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । खाँडादेवी मानव सभ्यताको विकाससँगै विकास भएको मन्दिर भएकोले यसको संरक्षण र प्रचारमा सबैले योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साधारण सभाले अध्यक्ष तामाङको प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश बुढाथोकीको प्रतिवेदन अनुमोदन गरेको छ ।  कार्यक्रममा खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ, वडाध्यक्षहरु, सुरक्षा अधिकारीहरु, राजनीतिक तथा सामाजिक व्यक्तित्व, आजिवन सदस्य, गुठीयार, पुजारी तथा काेषका पदाधिकारी र सदस्यहरुकाे सहभागिता थियाे ।