काठमाडौं, चैत १४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनापछि मुलुकमा प्रतिशोधको राजनीति बढ्दै गएको टिप्पणी गर्नुभएको छ।
साम्पाङले आफूले यसअघि नै यस्तो अवस्था आउने संकेत गरेको दाबी गर्दै “मेरो कुरा ढिलो गरी बुझ्छन्, मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ-अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति श्रम संस्कृतिमात्रै हो,” भन्नुभएको छ।
उहाँले वर्तमान परिस्थितिले आन्दोलनतर्फ लैजाने संकेत देखिएको उल्लेख गर्दै “अब हुने भनेको आन्दोलन, आन्दोलन अनि आन्दोलन मात्रै हो” भन्ने धारणा राख्नुभएको छ।
साम्पाङले विगतमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायत सरकारी संरचनामा आक्रमण गर्ने घटनाका अगुवाहरूलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएकाे छ। उहाँले त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। ‘सिंह दरबार, संसद भवन, सर्बोच्च अदालत र कयौँ सरकारी भवन जलाउने भत्काउने कृत्यको अगुवाहरुलाई पनि गिरफ्तार गरेर भाटै भाटा लगाउनु पर्छ !’, उहाँकाे धारणा छ ।
उहाँले पक्राउ परेका ओलीलाई स्वास्थ्य उपचारपछि छाडिदिन सरकारलाई आग्रह गर्नु भएकाे छ । ‘अब उपचार गराउनु अनि छोडि दिनु’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्