जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार १२:५४

सरकारले प्रतिशोध होइन, संवाद र सहकार्यको बाटो अपनाओस् : योगेश भट्टराई


काठमाडौं, चैत १४ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयमित हुनुपर्ने बताउनुभएको छ।

भट्टराईले प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटो अपनाउन आवश्यक रहेको उल्लेख गर्दै कानुनी राज्य र विधिको शासनको उपहास स्वीकार्य नहुने धारणा राख्नुभएको छ। उहाँले  भदौ २३ र २४ को घटनाबारे न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीप्रति निन्दा व्यक्त गर्दै अविलम्ब रिहाइको माग गर्नुभएको छ। साथै, जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस् भनी सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भट्टराईले पार्टीले कानुनी र राजनीतिक बाटो अवलम्बन गर्ने उल्लेख गर्दै संयम र धैर्यताका साथ एकताबद्ध भएर वर्तमान प्रतिकूल परिस्थितिको सामना गरिने बताउनुभयो। ‘लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक होइन संयम हुनु पर्दछ, प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ, कानुनी राज्य र विधिको शासनको उपहास मान्य छैन, घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्दछ, हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु ,अविलम्ब रिहाइको माग गर्दछु, जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस्, सरकारको ध्यानाकर्षण गर्दछु, हाम्रो पार्टीले कानुनी र राजनीतिक बाटो लिनु पर्दछ, संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।