काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति र प्रेमलाई आगोसँग तुलना गर्दै यसको सही प्रयोगले जीवन समृद्ध बन्ने तर दुरुपयोगले विनाशतर्फ लैजाने चेतावनी दिनुभएको छ।
उहाँले पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै सत्ता, जिम्मेवारी र संयमताको विषयमा गम्भीर सन्देश दिनुभएको छ। ‘राजनीति र प्रेम आगो हुन्, दुवै शक्तिशाली छन्, उपयोग गर्न जानियो भने जीवन समृद्ध बनाउँछन्, नत्र विनाशतर्फ लैजान सक्छन्,’ भण्डारीले लेख्नु भएकाे छ ।
उहाँले सत्ताको दुरुपयोगप्रति संकेत गर्दै पौराणिक सन्दर्भ प्रस्तुत गर्नुभएकाे छ। ‘सत्ताले लाक्षागृह जलाउँछ, तर पाण्डवलाई जलाउन सक्दैन’, भण्डारीकाे दृष्टान्त छ । उहाँले अन्याय र अतिरेकले अन्ततः सत्यलाई दबाउन नसक्ने धारणा राख्नुभएकाे छ। भण्डारीले कसैले पनि अति गर्न नहुने बताउँदै सत्तामा रहनेहरू संयमित हुनुपर्नेमा जोड दिनुभएकाे छ।
भण्डारीले सत्ताको उन्माद र असन्तुलनले ठूलो द्वन्द्व निम्त्याउने चेतावनी पनि दिनुभएकाे छ। ‘सत्तामा आत्तिने र मात्तिने दुवैको परिणाम महाभारत हो,’ उहाँको भनाइ छ। उहाँले पाण्डवहरूको सत्तारोहणसमेत अनेकौँ महारथीको अवसानपछि मात्र सम्भव भएको स्मरण गराउँदै सत्ता प्राप्तिको मूल्य ठूलो हुने बताउनुभएकाे छ ।
कानुनी शासनको पक्षमा स्पष्ट धारणा राख्दै उहाँले कुनै पनि प्रकारका हिंसात्मक तथा आपराधिक गतिविधिमा संलग्नलाई कारबाही हुनुपर्ने बताउनुभएकाे छ। ‘जिम्मेवारी अनुसार कानुनी सजाय हुनुपर्छ, योजना बनाउने र संलग्न हुने सबै दोषी हुन्-चाहे युवा मार्दा होस्, राष्ट्रिय सम्पत्ति जलाउँदा होस् वा लुटपाट गर्दा होस्,’ उहाँकाे धारणा छ।
युद्ध र द्वन्द्वको परिणामप्रति संकेत गर्दै उहाँले अन्ततः सबै पक्षका सामान्य मानिस नै मारिने यथार्थ औंल्याउनुएकाे छ। ‘युद्धमा जुन पक्षबाट लडेपनि मारिने त योद्धा नै हुन,’ उहाँले उल्लेख गर्नुएकाे छ ।













प्रतिक्रिया दिनुहोस्