जनता टाइम्स

१९ चैत्र २०८२, बिहीबार ११:२५

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षका लागि प्रकाशकुमार श्रेष्ठलाई पूर्वअध्यक्षहरूको बलियो समर्थन


रामेछाप, चैत १९ । रामेछाप उद्योग वाणिज्य संघको १५ औँ वार्षिक साधारण सभा तथा नवौँ जिल्ला अधिवेशन आज र भोलि मन्थलीमा हुँदै छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनले १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ ।

संघको नयाँ कार्यसमितिका १५ पदमध्ये अध्यक्षबाहेक १४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पदका लागि भने मतदान हुने भएको छ ।

अध्यक्ष पदका लागि संयुक्त उद्योगी–व्यवसायी समूहबाट प्रकाशकुमार श्रेष्ठ उम्मेदवार बन्नुभएको छ भने कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यसअघि एउटै समूहबाट प्रकाशकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा कुमार श्रेष्ठ महासचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

यसैबीच, प्रकाशकुमार श्रेष्ठलाई संघका एक बाहेक सबै पूर्वअध्यक्षहरूले समर्थन जनाउनुभएको छ । पूर्वअध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि आफूहरूले अन्तिम समयसम्म प्रयास गरेको बताउनुभएको छ । उहाँहरूका अनुसार सोही प्रयासको परिणामस्वरूप अध्यक्षबाहेकका १४ जना पदाधिकारी तथा सदस्य सर्वसम्मत रूपमा चयन हुन सफल भएका हुन् ।

अध्यक्ष पदका लागि पनि सहमति कायम गराउन पटक–पटक प्रयास गरिएको भए पनि सफल हुन नसकेको पूर्वअध्यक्षहरूको भनाइ छ । मतदानमै जानुपर्ने अवस्था सिर्जना भएकाले संस्थाको स्थायित्व, एकता र व्यवसायी हितका लागि प्रकाशकुमार श्रेष्ठलाई निर्वाचित गराउन मतदातासमक्ष उहाँहरूले आह्वान गर्नुभएको छ ।

पूर्वअध्यक्षहरूले प्रकाशकुमार श्रेष्ठको अनुभव, संस्थागत समझदारी र व्यवसायी समुदायसँगको निकटतालाई संघको भावी नेतृत्वका लागि आवश्यक आधारका रूपमा उल्लेख गर्नुभएको छ । संघको हित, व्यवसायीहरूको हक–हितको संरक्षण तथा संस्थालाई थप सुदृढ बनाउने जिम्मेवारी उहाँले प्रभावकारी रूपमा निर्वाह गर्न सक्नुहुने विश्वास व्यक्त गरिएको छ ।