काठमाडौं, चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले जनताले दिएको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आजबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उहाँले जनमतभित्र आशा र आक्रोश दुवै रहेको उल्लेख गर्नुभयो। ‘यो मतादेशमा आशा पनि छ, आक्रोश पनि छ,’ उहाँले भन्नुभयो, ‘यो मतादेश सिंहदरबार चलाउनका लागि होइन, बदल्नका लागि हो, र हामीले त्यो परिवर्तनको सुरुआत गरिसकेका छौँ।’
उहाँले अब रास्वपाका नेताहरूले केवल भाषण गरेर होइन, काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभयो। त्यसको सुरुआत भइसकेको उल्लेख गर्दै सरकारले दिन र सेकेन्ड गनेर काम गरिरहेको दाबी गर्नुभयो।
लामिछानेले सरकारका कामबारे आवश्यक पर्दा संसदमार्फत बोल्ने र अन्यथा काममार्फत नै परिणाम देखाइने बताउनुभयो। प्रधानमन्त्रीले सरकारका कामबारे समयानुकूल विस्तृत जानकारी गराउने पनि उहाँले उल्लेख गर्नुभयो।
उहाँले रास्वपाका नेताहरूलाई प्रश्न गर्न मात्र होइन, जवाफ दिन र काम गरेर देखाउन पनि सक्षम रहेको बताउनुभयो। साथै प्रतिपक्षलाई सरकारमाथि खबरदारी गर्न, कमजोरी सच्याइदिन र कामको निगरानी गर्न आग्रह गर्नुभयो। ‘हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ,’ उहाँले भन्नुभयो, ‘प्रतिपक्ष कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुन्छ।’
उहाँले सरकारले आस्था, विचार वा राजनीतिक झुकावका आधारमा फरक व्यवहार नगर्ने स्पष्ट पार्दै प्रतिशोध र अत्याचारको राजनीति अन्त्य हुने बताउनुभयो। यस सरकारलाई हालको युवा आन्दोलनको उपजका रूपमा व्याख्या गर्दै उहाँले यसअघि राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूलाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गरिदिन आग्रह गर्नुभयो।
उहाँले नेपाल अब लगानीका लागि पूर्ण सुरक्षित रहेको दाबी गर्दै यसको ग्यारेन्टी सरकारको तर्फबाट गरिने बताउनुभयो। बिचौलिया र माफियाले बिगारेको व्यावसायिक वातावरण सुधारको प्रक्रिया सुरु भइसकेको र त्यस्ता तत्वलाई अब स्थान नदिइने उहाँको भनाइ थियो।
सामाजिक न्यायको विषय उठाउँदै उहाँले देशमा शताब्दीयौँदेखि रहँदै आएको जातीय तथा सामाजिक विभेदका लागि सरकारका तर्फबाट माफी माग्नुभयो। सीप भएका समुदायलाई अछूत मान्ने पुरानो सोचले देशको विकास अवरुद्ध भएको उल्लेख गर्दै अब कसैले पनि विभेद सहनु नपर्ने वातावरण निर्माण गरिने बताउनुभयो।
महिलाको शिक्षा र रोजगारीमा समान पहुँच सुनिश्चित गरिने प्रतिबद्धता जनाउँदै उहाँले अब कुनै पनि छोरीले आफ्नो सपना सानो बनाउन नपर्ने अवस्था सिर्जना गरिने बताउनुभयो।
विदेशमा रहेका नेपालीहरूलाई आजको संसदको वास्तविक रचयिता भन्दै उहाँले उहाँहरूको त्याग र योगदानलाई राज्यले उच्च सम्मान गर्ने तथा प्राथमिकतामा राख्ने बताउनुभयो। साथै बिचौलिया र श्रम माफियालाई कारबाहीको दायरामा ल्याइने उल्लेख गर्नुभयो।
उहाँले वर्तमान परिवर्तन, सरकार र संसद युवाहरूको भएको उल्लेख गर्दै युवालाई अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अब सरकारको मुख्य लक्ष्य न्यायपूर्ण समाज निर्माणमा केन्द्रित हुने उहाँले स्पष्ट पार्नुभयो।













प्रतिक्रिया दिनुहोस्