काठमाडौं, चैत १९ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले जेजनी आन्दोलनका क्रममा सामाजिक सञ्जाल ‘डिस्कोर्ड’ मार्फत आन्दोलनमा मानिस बोलाउने, आन्दोलनलाई हिंसात्मक बनाउने तथा सरकारी भवन जलाउने घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ।
प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उहाँले भदौ २३ र २४ गते भएका घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभयो। उहाँले डिस्कोर्ड जस्ता डिजिटल माध्यम प्रयोग गरेर आन्दोलनलाई हिंसात्मक दिशातर्फ धकेल्ने, २३ गतेको घटना गराउने र २४ गते सरकारी भवन जलाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो। ‘यी घटनामा संलग्न जो–कोहीलाई पनि उन्मुक्ति दिनु हुँदैन,’ उहाँले भन्नुभयो, ‘उच्चस्तरीय छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ।’
उहाँले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अस्तित्वको विषय उठाउँदै पृथ्वी रहेसम्म देश रहनुपर्ने र नेपालको चन्द्र–सूर्य अंकित झण्डा सधैँ फहरिरहनुपर्ने बताउनुभयो।
अन्तर्राष्ट्रिय सम्झौताबारे धारणा राख्दै उहाँले Millennium Challenge Corporation (एमसीसी) खारेज गर्नुपर्ने माग गर्नुभयो। साथै सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निरन्तर अनुगमन र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
राजनीतिक प्रणालीको सुधारतर्फ संकेत गर्दै उहाँले जनताले प्रत्यक्ष रूपमा चुन्ने कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन तत्काल सुरु गर्नुपर्ने बताउँदै त्यसको सुरुवात वर्तमान मन्त्री र सांसदहरूबाटै हुनुपर्ने माग गर्नुभयो।
शिक्षा क्षेत्रको सुधारबारे बोल्दै उहाँले शिक्षालाई जीवनोपयोगी, उत्पादनमुखी र आविष्कारसँग जोड्नुपर्नेमा जोड दिनुभयो। कृषि क्षेत्रको समस्या समाधान नगरी देशको समग्र समस्या समाधान सम्भव नहुने भन्दै कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो।
रोजगारी सिर्जनाका लागि ‘एक पालिकामा एक उद्योग’ र ‘एक घरमा एक रोजगारी’ कार्यक्रम ल्याउनुपर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो। प्राकृतिक स्रोत–साधनको सदुपयोगमार्फत जनतालाई सेवा–सुविधा सहज रूपमा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्