जनता टाइम्स

१९ चैत्र २०८२, बिहीबार १६:०३

सरकार डढेलो लगाउने आगो होइन, आशाको दीयो बनोस् : ज्ञानबहादुर शाही


काठमाडौं, चैत १९ । प्रतिनिधि सभा सदस्य तथा राप्रपा संसदीय दलका नेता ज्ञनबहादुर शाहीले सरकार जनताको आशा, भरोसा र विश्वासको दीयो बन्नुपर्ने भन्दै दमन, हिंसा र निराशा फैलाउने ‘डढेलोको आगो’ बन्न नहुने चेतावनी दिनुभएको छ।

आजबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उहाँले बहुमतलाई स्थायी शक्ति नभई क्षणिक अवस्था भएको बताउनुभयो। ‘बहुमत क्षणिक हुन्छ, केही दिनको न्यानो मात्रै हो,’ उहाँले भन्नुभयो, ‘त्यो स्थायी हुँदैन।’

उहाँले भदौ २३ र २४ गते भएका हत्या र हिंसाका घटनाबारे तथ्यपूर्ण तथा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्नुभयो। ‘सरकार जनताको आशा र भरोसाको दीयो बनोस्, डढेलो लगाउने आगो नबनोस्,’ उहाँले संसदमा कडा स्वरमा भन्नुभयो।

शाहीले भ्रष्टाचारका सबै फाइल खोल्न माग गर्दै विगतदेखि दबाइएका प्रकरणहरू सार्वजनिक गर्न सरकारलाई चुनौती दिनुभयो। उहाँले सडक किनारमा साग, मकै र साना वस्तु बेचेर पैसा जम्मा गरेका सर्वसाधारणको बचत लुटिएको प्रसंग उठाउँदै सरकार स्वयंले नभई लुटेराबाट त्यो रकम फिर्ता गराउनुपर्ने बताउनुभयो।

उहाँले बहुचर्चित निर्मला पन्त हत्या प्रकरणलाई पुनः उठाउँदै हत्यारालाई यथाशीघ्र कारबाही गर्न सरकारलाई दबाब दिनुभयो।

युवा पलायनको विषयमा बोल्दै उहाँले नेपाली युवामा विदेशिने सोच परिवर्तन गर्न सरकार सफल हुनुपर्ने धारणा राख्नुभयो। देशभित्र रोजगारी, अवसर र भविष्यको भरोसा सिर्जना नगरेसम्म युवाको पलायन रोकिन नसक्ने उहाँको संकेत थियो।

राजनीतिक व्यवस्थाबारे आफ्नो पार्टीको पुरानो अडान दोहोर्‍याउँदै उहाँले नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग गर्नुभयो। साथै देश जनता र राजसंस्थाको संयुक्त ऐतिहासिक योगदानबाट बनेको उल्लेख गर्दै संवैधानिक राजसंस्था पुनःस्थापना गरिनुपर्ने धारणा राख्नुभयो।