जनता टाइम्स

१९ चैत्र २०८२, बिहीबार २१:१५

प्रतिनिधि सभा बैठकमा रामबहादुर थापाद्वारा व्यक्त धारणा पार्टी नीति विपरीत रहेको एमाले नेताहरूको भनाइ, सचिवालय बैठकमा गम्भीर छलफल हुने


काठमाडौं, चैत १९ । प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का संसदीय दलका नेताको हैसियतमा पार्टी नेता रामबहादुर थापाले आज व्यक्त गर्नुभएको धारणाप्रति एमालेका शीर्ष नेताहरूले गम्भीर असहमति जनाउँदै उक्त विषय पार्टीको स्थापित नीति, सिद्धान्त र मान्यतासँग मेल नखाने बताएका छन्।

पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आज प्रतिनिधि सभा बैठकमा व्यक्त विचारहरू नेकपा (एमाले) को स्थापित नीति र मान्यताविपरीत रहेको स्पष्ट गर्नुभएको छ। उहाँले यस विषयमा भोलि आयोजना गरिएको पार्टीको केन्द्रीय सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र आवश्यक तथा उचित निर्णय हुने अपेक्षा व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’

यसै विषयमा पार्टीका उपमहासचिव योगेशकुमार भट्टराईले पनि पार्टीको वैचारिक र राजनीतिक धारणा स्पष्ट पार्दै एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्नु नै जबजको मूल मर्म हो।

उहाँले जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्दै पराजयको ठोस समीक्षा गरी कमजोरी सुधार गरेर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा पार्टी अघि बढ्नुपर्ने बताउनुभएको छ।

भट्टराईले पार्टीको राज्य संस्थाहरूप्रति सम्मान र विश्वास यथावत रहेको पनि स्पष्ट गर्नुभएको छ। उहाँले नेपाली सेना, सुरक्षा निकाय, न्यायालय, संवैधानिक अंग तथा कर्मचारीतन्त्रप्रति एमालेको कुनै पनि बैरभाव नरहेको र भविष्यमा पनि सम्मान र विश्वास कायम रहने उल्लेख गर्नुभएको छ।  उहाँले भन्नुभएको छ, ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो, तर राज्य पक्षीय दल हो। नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि बैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहनेछ। संसद वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहनेछ।’

रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राख्नुभएको धारणापछि एमालेभित्र वैचारिक र राजनीतिक बहस तीव्र बनेको संकेत नेताहरूको सार्वजनिक प्रतिक्रियाबाट देखिएको छ। भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।