काठमाडौं, चैत २०। प्रतिनिधिसभाको नयाँ सभामुख पदका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी (डाेलप्रसाद) अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उहाँले आज सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो। रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ नजिकको बहुमतसहित सबैभन्दा ठूलो दलको रूपमा रहेको अवस्थामा सभामुख पदमा अर्को उम्मेदवारी पर्ने सम्भावना न्यून देखिएको छ। यसका कारण अर्याल निर्विरोध निर्वाचित हुने प्रबल सम्भावना रहेको बताइएको छ।
निर्वाचन तालिका अनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिनेछ। दर्ता भएका प्रस्तावसम्बन्धी सूचनालाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले प्रस्तुत गर्नुहुनेछ भने समर्थकले समर्थन गर्नुहुनेछ। त्यसपछि सामूहिक छलफलपश्चात निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ।
यसअघि बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले सभामुख पदका लागि डीपी अर्याललाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा संसदीय दलले उहाँको नाम अनुमोदन गरेको जनाइएको छ। मनाेनयन दर्ता गराउन पार्टी सभापति रवि लामिछाने लगायतका नेताहर पुग्नु भएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्