काठमाडौं, चैत २० । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन अन्तिम चेतावनी दिँदै सरकारले तत्काल निर्णय नगरे देशभरको यातायात सेवा ठप्प पार्ने वा आफैँ नयाँ भाडादर घोषणा गर्ने निर्णय गरेको जनाएको छ।
महासंघले नेपाल आयल निगमले छोटो अवधिमै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य वृद्धि गरिसकेको भए पनि सार्वजनिक यातायातको भाडा यथावत् राखिएको भन्दै तत्काल भाडा वृद्धि गर्न माग गरेको छ। महासंघका अनुसार हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा तत्काल समायोजन हुने गरेको तर लाखौँ सर्वसाधारण प्रत्यक्ष रूपमा जोडिएको सार्वजनिक यातायातको हकमा भने सरकारले बेवास्ता गरेको छ। यही कारण व्यवसायीहरू आफैँ भाडा वृद्धि गर्न बाध्य हुने अवस्थाको सिर्जना भएको महासंघले जनाएको छ।
महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधिअनुसार भाडा पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ। विज्ञप्तिअनुसार यात्रुवाहक सवारी साधनमा ११.३३ प्रतिशत तथा मालवाहक सवारी साधनमा तराई र पहाड क्षेत्रमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा वृद्धि गर्न सिफारिस भइसकेको छ। तर, सम्बन्धित मन्त्रालयले फाइल अघि नबढाई थन्काएर राखेको महासंघले जनाएकाे छ। ‘२०७२ सालदेखि १३ वटा मुख्य सूचकका आधारमा भाडा समायोजन भएको छैन, जसका कारण दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
पटक–पटकको अनुरोधलाई सरकारले बेवास्ता गरेको भन्दै महासंघले अब घाटा खाएर सेवा दिन नसकिने स्पष्ट पारेको छ। सरकारले तत्काल निर्णय नलिए वैज्ञानिक विधिलाई आधार बनाएर व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा भाडा वृद्धि गर्ने चेतावनी महासंघले दिएको छ।













प्रतिक्रिया दिनुहोस्